
काठमाडौं, पुस १ नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ ले श्रमिक र रोजगारदाता दुवैको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्। राजधानीको संवाद डबलीमा मंगलबार आयोजित कार्यक्रममा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघद्वारा प्रकाशित ‘होटल मजदुर आन्दोलनको दर्पण’ पुस्तक सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
पुनले राजनीतिक अस्थिरताका कारण श्रम क्षेत्र सबल हुन नसकेको उल्लेख गर्दै लगानी सुरक्षाको वातावरण नहुँदा लगानीकर्ता तर्सिने र दक्ष श्रमिक विदेश पलायन हुने अवस्था सिर्जना भएको बताए। भारत र चीनजस्ता छिमेकी मुलुकबाट पर्यटक भित्र्याउन सकिए देशको पर्यटन र अर्थतन्त्र मजबुत बन्न सक्ने उनको भनाइ थियो।
देशको समग्र स्थायित्वका लागि निर्वाचन अपरिहार्य रहेको जिकिर गर्दै पुनले सबै राजनीतिक दल चुनावतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। पछिल्लो समय उठाइएको संसद पुनःस्थापनाको बहसलाई अपरिपक्व सोचको संज्ञा दिँदै उनले भने, “यदि फागुन २१ गते चुनाव हुन सकेन भने संसद पुनःस्थापना स्वाभाविक हुन सक्छ, तर त्यस्तो अवस्थातर्फ कसैले जानु हुँदैन।”
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मजदुरहरूले भोग्दै आएको संघर्ष, आन्दोलन र उपलब्धिलाई समेटेर पुस्तक प्रकाशन गरिएकोमा संघलाई धन्यवाद दिए। उनले नियमित काममा स्थायी श्रमिक नियुक्त नगर्ने, आपूर्तिकर्ता मार्फत श्रमिक भर्ति गर्ने र सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने प्रवृत्तिले मजदुर समस्यामा परेको बताए।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) का अध्यक्ष संघर्ष विष्टले पुस्तक प्रकाशनलाई सकारात्मक पहल भन्दै व्यवसायी र श्रमिकबीच सहकार्य भए मात्र श्रम क्षेत्र सुरक्षित र दिगो बन्ने धारणा राखे। आगामी संस्करणमा पर्यटन क्षेत्रका थप विषय समेट्न उनले सुझाव दिए।
संघका अध्यक्ष कुमार पन्तले १० प्रतिशत सेवा शुल्क पुनःप्राप्ति, नियमित काममा स्थायी श्रमिक व्यवस्था र पूर्ण सामाजिक सुरक्षा काेषको कार्यान्वयनका लागि लामो समयदेखि संघर्ष हुँदै आएको जानकारी दिँदै ती आन्दोलन र उपलब्धिलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए।
पुस्तक सार्वजनिक कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ तथा होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।