15:16:00 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

भद्रपुरमा नौ वर्षपछि औद्योगिक तथा व्यापार महोत्सव

झापा; मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुनेछ।

‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवले निजी क्षेत्रमा फैलिएको निराशा र त्रासलाई चिर्न सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताउनुभयो। उहाँका अनुसार जेनजी आन्दोलनपछिको मनोवैज्ञानिक असर कम गर्न महोत्सव सहयोगी बन्ने अपेक्षा गरिएको छ।

महोत्सवमा घरेलु, कृषि, पर्यटन तथा अन्तरराष्ट्रिय वस्तु तथा सेवाको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहनेछन्। करिब रु १ करोड २० लाख खर्च अनुमान गरिएको महोत्सवबाट कम्तीमा रु १० करोडको कारोबार हुने र एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने लक्ष्य राखिएको छ।

महोत्सव सफल बनाउन नौवटा उपसमिति गठन गरिएको छ। आदित्य पराजुलीको संयोजकत्वमा आर्थिक सङ्कलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बूको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति तथा राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सव सफल बनाउन नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal