
काठमाडौं। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरेका केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन।
आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने विशेष कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने कार्यक्रम तय भएको हो।
समाहित हुने समूहको नेतृत्व वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारले गर्नुभएको छ। उहाँसँगै केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूरपश्चिम प्रदेश संयोजक यशोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनार पनि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ।
यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति, शर्मिला जिजार, कमला पिसी तथा कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपाली लगायतका नेता कार्यकर्ताहरू पनि समाहित हुने बताइएको छ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले नवप्रवेशी नेताहरूलाई स्वागत गर्नुहुने कार्यक्रम रहेको छ।
पछिल्लो समय वामपन्थी शक्तिहरूबीच एकताको बहस चलिरहेका बेला यो समाहितीलाई राजनीतिक अर्थपूर्ण कदमका रूपमा हेरिएको छ। यसले कम्युनिष्ट धारभित्रको ध्रुवीकरण र पुनर्संरचनालाई थप तीव्र बनाउने आकलन गरिएको छ।