
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन्।
काठमाडौंमा सोमबार आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा उल्लेख गरिन्। उनले कुनै पनि राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट माथि उठेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको विगतदेखि वर्तमानसम्मको क्रियाकलापले प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ रहेको प्रमाणित गरेको उल्लेख गर्दै सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको दाबी गरिन्।
परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध तथा सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखा परिरहेको अवस्थामा प्रहरी निरीक्षकहरूको भूमिका केवल आदेश पालनामा सीमित नरही समस्या समाधानकर्ताका रूपमा विकसित हुनुपर्नेमा उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले दीक्षित प्रहरी निरीक्षकहरूलाई पेशागत इमानदारी, अनुशासन र जनमैत्री सेवा प्रवाहमार्फत लोकतन्त्र सुदृढ गर्न महत्वपूर्ण योगदान दिन आग्रह गरिन्।