14:31:28 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

श्रमिक अधिकार सुदृढ बनाउन श्रम कानून संशोधनको माग


काठमाडौं। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले श्रमिक अधिकार संरक्षण र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन श्रम कानून संशोधन गर्न सरकारसँग माग गरेको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जेटियुसिसीले श्रमिक हितका विभिन्न नीतिगत प्रस्ताव अघि सार्दै श्रम क्षेत्रका चुनौती समाधानका लागि तत्काल सुधार आवश्यक रहेको जनाएको हो।


जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठ ले सार्वजनिक क्षेत्रमा ट्रेड युनियन अधिकार पुनर्स्थापना, जीवनयापन लागतमा आधारित पारिश्रमिक निर्धारण तथा सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आवद्ध गर्नुपर्ने माग गरे।

उनले बदलिँदो श्रम बजार, रोजगारीको अनौपचारिकीकरण, प्रविधिको बढ्दो प्रयोग (एआई र स्वचालन), महँगी, आप्रवासी श्रमिकको शोषण तथा जलवायु परिवर्तनले श्रमिक अधिकारमा थप दबाब सिर्जना गरेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।

श्रेष्ठले अबको श्रम आन्दोलन केवल तलब वृद्धिमा सीमित नरही उत्पादनशीलता, दक्षता, डिजिटल रूपान्तरण, सर्वव्यापी सामाजिक सुरक्षा र राष्ट्रिय औद्योगिकीकरणतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।


त्यसैगरी, राज्यका सबै संरचनामा श्रमिकको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न, संवैधानिक श्रम आयोग गठन गर्न, करार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न र सामाजिक सुरक्षा कोषको पारदर्शी व्यवस्थापन गर्न पनि माग गरिएको छ।

उनका अनुसार न्यूनतम पारिश्रमिकलाई जीवनयापन लागतसँग जोडेर पुनरावलोकन गर्ने संयन्त्र बनाउनुपर्ने, सबै कामदारलाई सामाजिक सुरक्षामा समेट्ने, इन्टर्नशिपलाई पारिश्रमिकसहित लागू गर्ने तथा एआई, रोबोटिक्स, फिनटेक र हरित रोजगारीसम्बन्धी तालिम विस्तार गर्नुपर्ने आवश्यकता छ।


महिला श्रमिकका लागि समान कामको समान पारिश्रमिक लागू गर्न, उत्पीडन र भेदभावविरुद्ध शून्य सहनशीलता नीति अपनाउन पनि जेटियुसिसीले माग गरेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal