14:40:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

प्रेस स्वतन्त्रता उल्लंघनका घटना एक वर्षमै दोब्बर नजिक

काठमाडौँ। नेपाल पत्रकार महासंघले नेपालमा प्रेस स्वतन्त्रता हननका घटना तीव्र रूपमा बढ्दै गएको जनाएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अध्यक्ष निर्मला शर्माले जारी गरेको सन्देशअनुसार मे ४, २०२५ देखि अप्रिल ३०, २०२६ सम्म १३१ वटा घटना अभिलेख भएका छन्।

अघिल्लो वर्ष ७३ र त्यसअघिल्लो वर्ष ६२ घटना मात्र रहेका थिए, जसले उल्लंघनको दर निरन्तर बढिरहेको देखाएको छ।

धम्की, आक्रमण र अवरोध प्रमुख समस्या

महासंघका अनुसार एक वर्षमा भएका घटनामध्ये पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१, सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेशागत असुरक्षाका १८ र कब्जा तथा अवरोधका २६ घटना रहेका छन्। त्यस्तै नीतिगत बन्देजका ३, पत्रकार पक्राउका २ र एक जना पत्रकारको शंकास्पद मृत्यु समेत अभिलेखमा समेटिएको छ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा मात्रै २६ वटा घटना हुँदा सयभन्दा बढी पत्रकार र सञ्चारगृह प्रभावित भएका थिए।

आर्थिक क्षति, दण्डहीनता र नीतिगत निष्क्रियता चिन्ता

उक्त आन्दोलनका क्रममा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा संस्थागततर्फ करिब ६० करोड र निजी सम्पत्तितर्फ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको महासंघले जनाएको छ। पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए।


सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट लगायतका सञ्चारगृहमा समेत आक्रमण भएको थियो।

महासंघले दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक संकट, पत्रकारको असुरक्षा र सरकारी नीतिगत निष्क्रियता प्रेस स्वतन्त्रताका मुख्य चुनौतीका रूपमा औँल्याएको छ।

अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न नागरिक समाज र पेशागत संस्थाहरूबीच ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal