14:28:40 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

म नभएको भए शान्ति प्रक्रिया सम्भव हुँदैनथ्यो: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफूलाई परिवर्तन र ‘क्रमभंग’को पक्षमा उभिने गतिशील नेताका रूपमा प्रस्तुत गरेका छन्।

दासढुङ्गा हत्या काण्डमा मारिएका तत्कालीन एमाले नेता मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले समाज, राजनीति र मानव विकासको नियम नै निरन्तरता भित्र आवश्यक बेला क्रमभंग हुने भएकाले आफूले त्यही सिद्धान्तलाई अघि सारेको बताए।

उनले एउटै विचार र कार्यशैलीमा अडिग रहँदा समाज अघि बढ्न नसक्ने उल्लेख गर्दै समयअनुसार विचार र रणनीति परिवर्तन गर्न सक्नुपर्ने धारणा राखे। अहिले पनि पुरानै नारामा सीमित रहेर राजनीति गर्नेहरूलाई लक्षित गर्दै उनले त्यसबाट मुलुकले निकास नपाउने टिप्पणी गरे।

प्रचण्डले आफूले नेतृत्व गरेको जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन निर्णायक भूमिका खेलेको दाबी गर्दै, “म नभएको भए त्यो सम्भव हुँदैनथ्यो,” भने। अहिले पनि सहकार्य र राष्ट्रिय एकताको राजनीतिलाई अघि बढाउने दिशामा आफू लागिरहेको उनको भनाइ थियो।

उनले आफू परिस्थितिअनुसार विचार र कार्यशैली परिमार्जन गर्न तयार भएकै कारण नयाँ राजनीतिक अवस्था सिर्जना भएको दाबी गरे।

“मैले भनिएको जस्तै अडान मात्रै लिएको भए प्रचण्डपथ नै भइराख्थ्यो, आजको अवस्था र हाम्रो भेट पनि हुने थिएन,” भन्दै उनले परिवर्तनलाई आत्मसात् गर्ने क्षमता नै नेतृत्वको प्रमुख विशेषता भएको बताए।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal