
काठमाडौँ। नेपालका विश्वविख्यात पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको निधनप्रति गिनिज वर्ल्ड रेकर्ड्सले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। गिनिजले विज्ञप्ति जारी गर्दै पुर्जाले मानव क्षमताको सीमालाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरेको हो।
विश्व पर्वतारोहण क्षेत्रमा असाधारण उपलब्धि हासिल गरेका पुर्जाका नाममा अनेकौँ विश्व कीर्तिमान दर्ता छन्। सन् २०२५ को सेप्टेम्बरसम्मको तथ्याङ्कअनुसार ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको सबैभन्दा धेरै ४९ पटक सफल आरोहण गर्ने कीर्तिमान उनकै नाममा रहेको थियो। यसबाहेक, बिनाअक्सिजन सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने सबैभन्दा पाको व्यक्ति बन्ने दुर्लभ कीर्तिमान पनि उनले कायम गरेका थिए।
गिनिज वर्ल्ड रेकर्ड्सका एडिटर–इन–चीफ क्रेग ग्लेन्डेले श्रद्धाञ्जली सन्देशमा पुर्जालाई साहस, दृढता र नवीन सोचको प्रतीकका रूपमा स्मरण गरेका छन्।
‘निम्सले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएका थिए। उनले पर्वतारोहणको एउटा यस्तो नयाँ शैलीको सुरुवात गरे, जसले स्वयं उनलाई मात्र होइन, सम्पूर्ण आरोहण समुदायलाई नै नयाँ चुनौती र प्रेरणा दियो,’ ग्लेन्डेले भने।
उनले पुर्जाले शेर्पा गाइड तथा भरियाहरूको योगदानलाई विश्वसामु चिनाउन खेलेको भूमिकाको पनि विशेष प्रशंसा गरेका छन्। ‘शेर्पा गाइड र भरियाहरूको अतुलनीय योगदानलाई अन्तर्राष्ट्रिय समुदायले उचित सम्मान दिलाउन उनले गरेको प्रतिबद्धता र अथक प्रयास सधैँ एउटा जीवन्त विरासतका रूपमा रहनेछ,’ उनले उल्लेख गरेका छन्।
निर्मल पुर्जा ‘प्रोजेक्ट पोसिबल’ अभियानका कारण विश्वभर चर्चित बनेका थिए। उनले १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू अत्यन्त छोटो समयमा आरोहण गरेर विश्व पर्वतारोहण इतिहासमै नयाँ अध्याय लेखेका थिए। त्यस अभियानले नेपाली पर्वतारोहीको क्षमता, साहस र व्यावसायिक दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको मानिन्छ।
पुर्जाले आफ्नो साहसिक यात्रामार्फत नेपाललाई विश्व पर्वतारोहणको केन्द्रका रूपमा चिनाउन उल्लेखनीय योगदान दिएका थिए। उनका सफलताले नयाँ पुस्ताका पर्वतारोहीलाई प्रेरणा दिएको मात्र होइन, नेपालको पर्यटन र हिमालसँग जोडिएको पहिचानलाई पनि थप उचाइमा पुर्याएको थियो।
उनको असामयिक निधनसँगै नेपालले एक अद्वितीय पर्वतारोही गुमाएको छ भने विश्व पर्वतारोहण समुदायले साहस, समर्पण र असम्भवलाई सम्भव बनाउने प्रेरणादायी व्यक्तित्व गुमाएको छ। गिनिज वर्ल्ड रेकर्ड्ससहित विश्वभरबाट आइरहेका श्रद्धाञ्जली सन्देशहरूले निर्मल ‘निम्स’ पुर्जाले छाडेको योगदान र विरासतलाई अझ स्पष्ट रूपमा उजागर गरेका छन्।