17:10:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

हर्मुज जलमार्गमा एडीएनओसीको जहाजमाथि इरानी आक्रमणको यूएईको आरोप

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनी अबु धाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ।

यूएईका अनुसार शुक्रबार हर्मुज जलमार्ग हुँदै अघि बढिरहेको एडीएनओसीको जहाजलाई लक्षित गरी आक्रमण भएको हो। घटनामा जहाजमा रहेका कुनै पनि व्यक्ति घाइते नभएको र अवस्था नियन्त्रणमा रहेको एडीएनओसीले जनाएको छ।

यूएईको विदेश मन्त्रालयले इरानलाई व्यावसायिक जहाजमाथिका आक्रमण तत्काल रोक्न, शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न तथा हर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्न आग्रह गरेको छ।

घटनाबारे इरानले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन। इरानको रिभोलुसनरी गार्ड्सले यसअघि आफ्ना विरोधी देशसँग सम्बन्धित वा इरानी निर्देशन पालना नगर्ने जहाजविरुद्ध कारबाही गर्ने चेतावनी दिँदै आएको थियो।

रोयटर्सका अनुसार एक साताभन्दा कम अवधिमा एडीएनओसीका जहाजसँग सम्बन्धित यो तेस्रो घटना हो। यसअघिका घटनामा पनि यूएईले इरानलाई जिम्मेवार ठहराएको थियो।

यूएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गासले लगातारका घटनापछि अबुधाबीले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्ने बताएका छन्। उनले जलमार्गमा आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न यूएई प्रतिबद्ध रहेको र कूटनीतिक विकल्पलाई प्राथमिकता दिने बताएका छन्।

यसैबीच, बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले पनि शुक्रबार हर्मुज जलमार्गमा एउटा बल्क क्यारियर जहाजमाथि अज्ञात आक्रमण भएको सूचना प्राप्त भएको जनाएको छ। उक्त घटना एडीएनओसीको जहाजसँग सम्बन्धित थियो वा थिएन भन्ने भने स्पष्ट भइसकेको छैन।

इरान र ओमानबीच रहेको हर्मुज जलमार्ग विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हो। द्वन्द्व सुरु हुनुअघि विश्वको ठूलो हिस्सा कच्चा तेल तथा तरल प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।

फेब्रुअरी २८ देखि अमेरिका–इसराइल र इरानबीच जारी युद्धका कारण हर्मुज क्षेत्रमा समुद्री ढुवानी प्रभावित हुँदै आएको छ। पछिल्ला घटनाले जहाजको भाडादर बढ्नुका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री सुरक्षाबारे चिन्ता थपिएको छ।

अबुधाबीस्थित एडीएनओसी यूएई सरकारको स्वामित्वमा रहेको प्रमुख ऊर्जा कम्पनी हो। कम्पनीले कच्चा तेल, प्राकृतिक ग्यास तथा प्रशोधित पेट्रोलियम पदार्थ उत्पादन र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal