14:40:29 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

ट्रम्पको ५० प्रतिशत करपछि क्यानडाको जवाफी कदम, अमेरिका–क्यानडा व्यापार तनाव चर्कियो

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार लगाएपछि क्यानडाले पनि अमेरिकाविरुद्ध समान दरमा जवाफी कर लगाउने घोषणा गरेको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार अमेरिकाबाट आयात हुने स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय तथा घरेलु उपकरण, कृषि सामग्री, पल्प र कागजलगायतका वस्तुमा सेप्टेम्बर ८ देखि नयाँ कर लागू हुने बताएका हुन्।

कार्नीले अमेरिकी कदमको जवाफ ‘डलर फर डलर’ अर्थात् अमेरिकाले लगाएको बराबर दरमा दिने घोषणा गरे। उनले क्यानडाली कामदार, किसान, परिवार र व्यवसायको हित संरक्षणका लागि जवाफी कदम चाल्नुपरेको बताएका छन्।

अमेरिका र क्यानडाबीच व्यापार सम्झौताको विषयमा केही दिनदेखि भइरहेको वार्ता शुक्रबारसम्म पनि सहमतिमा पुग्न नसकेपछि ट्रम्पले क्यानडाली सामानमा ५० प्रतिशत कर लागू गरेका थिए। रोयटर्सका अनुसार अमेरिकी सरकारले करिब २० अर्ब डलर मूल्यका क्यानडाली सामानमा नयाँ कर कार्यान्वयन गरिसकेको छ।

वार्ता स्थगित

कर विवाद बढेसँगै क्यानडाले अमेरिकासँगको व्यापार वार्ता पनि स्थगित गरेको छ। कार्नीले क्यानडाली वार्ताकारलाई ओटावा फर्कन निर्देशन दिइएको जानकारी दिएका छन्।

उनका अनुसार अमेरिकाले वार्ताको अन्तिम चरणमा अघि सारेका नयाँ सर्तहरू क्यानडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अव्यावहारिक थिए।

अमेरिका र क्यानडा सम्झौताको नजिक पुगिसकेको अवस्थामा अन्तिम समयमा वार्ता भाँडिएको हो। सम्भावित सम्झौतामा स्टिल, आल्मुनियम र अटोमोबाइलमा लाग्ने कर घटाउने तथा अमेरिकी मदिरालाई क्यानडाका सरकारी मदिरा पसलमा पुनः बिक्री गर्ने बाटो खोल्ने विषयमा सहमति बन्ने सम्भावना थियो।

तर क्यानडाले स्टिल, आल्मुनियम, अटोमोबाइल र सफ्टवुड काठमा थप सहुलियत मागेपछि सम्झौता रोकिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले क्यानडाले अन्तिम चरणमा सहमत भएका सर्तअनुसार सम्झौता अघि बढाउन अस्वीकार गरेको आरोप लगाएका छन्।

कुन वस्तुमा कर ?

अमेरिकाको नयाँ करको दायरामा क्यानडाबाट जाने वाइन, फर्निचर, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा, माछा मार्ने सामग्री तथा हक्की उपकरणलगायतका वस्तु परेका छन्।

जवाफमा क्यानडाले अमेरिकी स्टिल, दुग्धजन्य पदार्थ, घरेलु उपकरण, कृषि उपकरण, इलेक्ट्रोनिक्स, पल्प तथा कागजलगायतका उत्पादनमा कर लगाउने तयारी गरेको छ। सरकारले जवाफी करको विस्तृत सूची आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

ट्रम्पसँग क्यानडाको सम्बन्ध पहिल्यै तनावपूर्ण

ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेयता अमेरिका र क्यानडाबीचको सम्बन्ध लगातार तनावपूर्ण रहँदै आएको छ। ट्रम्पले पटक–पटक क्यानडालाई अमेरिकाको ५१औँ राज्य बन्न सुझाव दिँदै आएका छन्। उनले तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई समेत ‘५१औँ राज्यको गभर्नर’ भन्दै व्यंग्य गरेका थिए।

नयाँ कर विवादले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता यूएस–मेक्सिको–क्यानडा एग्रिमेन्ट (युएसएमसिए) को आगामी वार्तालाई समेत थप जटिल बनाउने अनुमान गरिएको छ।

कार्नीले अमेरिकाले क्यानडाको भविष्यमा अन्य मुलुकसँग व्यापार सम्झौता गर्ने क्षमतामाथि समेत अंकुश लगाउने खालका सर्त अघि सारेको आरोप लगाएका छन्। उनले क्यानडाले त्यस्ता सर्त स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

यसअघि पनि अमेरिकी करको विरोधमा क्यानडाले विभिन्न अमेरिकी वस्तुमा जवाफी कर लगाउँदै आएको थियो। नयाँ निर्णयसँगै दुई देशबीचको व्यापार विवाद अझ गहिरिएको छ।

क्यानडाका विपक्षी कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले समेत सरकारको जवाफी कदमलाई समर्थन गरेका छन्। विभिन्न सर्वेक्षणमा अधिकांश क्यानडाली नागरिकले ट्रम्पसमक्ष थप सहुलियत दिन नहुने धारणा राखेको देखिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal