
काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै आङ्देम्बेले विपद्को कठिन घडीमा नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारसँग ९ बुँदे माग अघि सारेका हुन्।
नेपाली सेनाले गरिरहेको उद्धार कार्यको सराहना गर्दै उनले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न आग्रह गरेका छन्।
बाढीबाट क्षति पुगेका १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलिब्रिज जडान गरी अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ।
त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा तत्काल सुचारु गर्न, बेपत्ताको खोजी तथा शव व्यवस्थापनलाई तीव्रता दिन र सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई काठमाडौंसम्म पुर्याउन आवश्यक यातायातको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका छन्।
स्वास्थ्य उपचारतर्फ ध्यानाकर्षण गराउँदै आङ्देम्बेले नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको तत्काल व्यवस्था गर्न माग गरेका छन्। साथै, ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्याको व्यवस्था गर्न पनि उनले आग्रह गरेका छन्।
सुरुङ तथा भग्नावशेषमा नागरिक फसेको सम्भावनालाई मध्यनजर गर्दै जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञ टोली परिचालन गर्न अनुमति दिनुपर्ने उनको भनाइ छ।
राहत वितरणमा स्थानीय तह तथा सामाजिक संघसंस्थासँग प्रभावकारी समन्वय गर्नुपर्ने र त्रिशूलीलगायत नदी क्षेत्रमा शीघ्र तुइनको व्यवस्था गर्नुपर्ने माग पनि आङ्देम्बेले अघि सारेका छन्।
उनले विपद्पछिको उद्धारसँगै प्रभावित नागरिकको सुरक्षित पुनःस्थापना र अवरुद्ध पूर्वाधारको शीघ्र पुनर्निर्माणमा समेत सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्।