13:01:44 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

श्रम संस्कृति पार्टीको बैठकमा सुदन किराँतीसहितका नेता सहभागी

धरान। श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्।

मंगलबारदेखि सुरु भएको बैठकको पहिलो दिन किराँती नेतृत्वको समूहलाई सहभागी नगराइएपछि पार्टीभित्र असन्तुष्टि बढेको चर्चा भएको थियो। पार्टीसँग एकता भएको करिब चार महिनामै पूर्वमन्त्री किराँती नेतृत्वको समूहलाई बैठकमा आमन्त्रण नगरिएको विषयले पार्टीभित्रको विवाद सतहमा आएको बताइएको थियो।

तर, पार्टी अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता किराँती दुवै पक्षले बैठकको कार्यक्रम पूर्वनिर्धारित रहेको स्पष्ट पार्दै आएका थिए। उनीहरूका अनुसार पहिलो दिन एकताअघि रहेको कमिटीको बैठक बसेर एकता अनुमोदन गर्ने र दोस्रो दिन दुवै कमिटीलाई समेटेर बैठक बस्ने सहमति पहिले नै भएको थियो।

पार्टीका महासचिव आरेन राईले पनि बैठकको कार्यक्रम पूर्वनिर्धारित भए पनि बाहिर अनावश्यक हल्ला चलेको बताएका थिए। किराँती स्वयंले पनि मंगलबार सामाजिक सञ्जालमार्फत आफू पहिलो दिनको बैठकमा सहभागी नहुने र बुधबार सहभागी हुने भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए।

एकताअघि श्रम संस्कृति पार्टीको केन्द्रीय समिति २३ सदस्यीय थियो। किराँती नेतृत्वको समूहसँग एकता भएपछि एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य थपिएका थिए। त्यसपछि पार्टीको केन्द्रीय समिति ४१ सदस्यीय बनेको थियो।

एकताका क्रममा किराँतीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो। त्यसबेला अध्यक्ष साम्पाङले किराँतीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा समेत प्रस्तुत गरेका थिए।

पूर्वी नेपालमा पार्टीको संगठन विस्तार तथा विभिन्न तहका जनप्रतिनिधिलाई पार्टीमा आबद्ध गराउने अभियानमा किराँती नेतृत्वको समूह सक्रिय रहँदै आएको छ।

यद्यपि, पार्टी एकतापछि दुवै पक्षबीच असन्तुष्टि नरहेको भने होइन। किराँती निकट एक नेताका अनुसार चार महिनाअघि भएको पार्टी एकता यसअघि नै केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने उनीहरूको धारणा थियो।

किराँती समूहले अध्यक्ष साम्पाङले पार्टीलाई विधि र संस्थागत प्रक्रियाभन्दा सामाजिक सञ्जालमार्फत हुने घोषणा तथा निर्णयका आधारमा सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आएको छ।

तर, दुवै नेताबीच सहकार्य हुनुपर्ने पक्षमा पार्टीभित्र ठूलो समूह रहेको ती नेताले बताए। उनका अनुसार साना–ठूला असन्तुष्टि र अपमान सहेर भए पनि पार्टी एकता जोगाएर अघि बढ्ने विषयमा किराँती पक्ष सकारात्मक छ।

यही कारण मंगलबारको बैठकमा आफ्नो पक्ष मात्रै सहभागी हुने अध्यक्ष साम्पाङको अडानलाई आफूहरूले स्वीकार गरेको किराँती निकट नेताको भनाइ छ।

किराँती पक्षका नेताहरूले अध्यक्षको कार्यशैलीप्रति रहेको असन्तुष्टि केन्द्रीय समिति बैठकमै उठाउने तयारी गरेका छन्। पार्टीलाई सामाजिक सञ्जालमा आधारित घोषणा र एकतर्फी निर्णयभन्दा सामूहिक निर्णय तथा संस्थागत विधि र पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने उनीहरूको जोड छ।

बुधबारको बैठकमा किराँतीसहित दुवै पक्षका नेताहरू सहभागी भएपछि पार्टीभित्र देखिएको असन्तुष्टिलाई संस्थागत छलफलमार्फत समाधान गर्ने प्रयास हुने अपेक्षा गरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
CNM Nepal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal