
काठमाडौ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुखमा रहेका सातवटा ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ।
मंगलबार राति परेको भारी वर्षापछि सुरुङको मुखमा जमेको पानी निकालिएपछि उद्धारकर्ताले अवरोध बनेका ठूला ढुंगा विस्फोट गरी हटाएका हुन्।
प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार अहिले विस्फोटबाट फुटेका ढुंगाका टुक्रा हटाउँदै सुरुङभित्र तलतर्फ जाने बाटो खुलाउने काम भइरहेको छ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीपछि आयोजनाको सुरुङभित्र ठूलो मात्रामा माटो र लेदो थुप्रिएको छ। उक्त लेदो हटाएर बाहिर निकाल्न ह्वील लोडर र मिनी एस्काभेटर तयारी अवस्थामा राखिएको छ।
न्यौपानेका अनुसार सुरुङ सफा गर्दै करिब १६० मिटर अगाडि बढेपछि त्रिशूली–३ ‘ए’ को पावरहाउस पुग्न सकिनेछ।
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढीपछि ४२ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।