
कर्णाली, सुर्खेत — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आगामी माघ ९ देखि १४ गतेसम्म राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ।
सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयको आयोजनामा हुन लागेको यस प्रतियोगिताको उद्देश्य अपाङ्गता भएका व्यक्तिको क्षमता उजागर गर्नु, समावेशी खेलकुदको प्रवर्द्धन गर्नु तथा समाजमा रहेको दृष्टिकोण परिवर्तन गर्नु रहेको आयोजकले बताएका छन्।
शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पारा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले अवसर पाए सपाङ्गसरह नै उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता राख्ने उल्लेख गर्नुभयो।
“अपाङ्गता कमजोरी होइन, अवसरको अभाव हो,” अध्यक्ष शाहीले भन्नुभयो,
“उचित प्लेटफर्म पाए अपाङ्ग खेलाडीले पनि देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्छन्।”
प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष ह्वीलचियर बास्केटबल, ह्वीलचियर क्रिकेट, महिला तथा पुरुष पाँच किलोमिटर ह्वीलचियर दौड तथा ह्वीलचियर नृत्य प्रतियोगिता समावेश गरिएका छन्। सातै प्रदेश र विभागीय टोली गरी करिब २०० ह्वीलचियर प्रयोगकर्ता खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।
ह्वीलचियर बास्केटबल प्रतियोगिता वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा तथा क्रिकेट प्रतियोगिता कालिञ्चोक क्रिकेट मैदानमा सञ्चालन हुनेछ। त्यस्तै, ह्वीलचियर दौड वीरेन्द्रनगरको एयरपोर्टदेखि बाङ्गेसिमलसम्मको पाँच किलोमिटर दूरीमा हुनेछ।
अध्यक्ष शाहीले प्रदेश सरकारले अपाङ्गतासम्बन्धी स्पष्ट नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रतियोगितालाई पर्यटनसँग जोडेर कर्णालीको पहिचान अन्तर्राष्ट्रियस्तरमा फैलाउने प्रयास गरिने बताउनुभयो।