15:12:35 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउन जिल्लालाई दियो कडा निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र विवरण संकलनको काम तुरुन्तै निष्कर्षमा पुर्‍याउन जिल्ला संगठनहरूलाई परिपत्र जारी गरेको छ। पार्टीका महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म हुने पार्टीको १५औँ महाधिवेशनको तयारी सँगसँगै सदस्यता सम्बन्धी कार्यलाई प्राथमिकताका साथ पूरा गर्न आग्रह गर्दै परिपत्र पठाएका हुन्।

परिपत्रका अनुसार नवीकरण बाँकी रहेका सदस्यहरूको विवरण तत्काल तहगत समन्वयमार्फत संकलन गरी वडादेखि जिल्ला समितिको बैठक निर्णय सहित अन्तिम नामावली तयार पार्नु पर्नेछ। त्यही नामावली र तोकिएको सदस्यता शुल्कसमेत तोकिएको समयभित्रै केन्द्रमा पठाइसक्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ।

यदि निर्धारित मितिभित्र नवीकरण पठाएपछि पनि कसैको सदस्यता छुट भएमा त्यसको छुट्टै सूची तयार गरी पुस ३ गतेभित्र अनिवार्य रूपमा केन्द्रमा पठाउनुपर्ने परिपत्रमा जनाइएको छ।

यसअघि पार्टी केन्द्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धी प्रक्रिया प्रतिनिधिसभा क्षेत्रीय समितिमार्फत नै सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सोअनुसार सबै प्रतिनिधिसभा क्षेत्रमा सदस्यता फाराम पठाइसकिएको काङ्ग्रेसले जनाएको छ।

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला पार्टी समितिहरूले पुस १० गतेभित्र र दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पुस ११ गतेसम्म सम्पूर्ण प्रक्रिया सकाइसक्ने गरी नामावली प्रकाशन गरेर केन्द्रमा बुझाउनुपर्ने तालिका पनि परिपत्रमा समावेश छ।

कांग्रेसले १५औँ महाधिवेशनको समयसीमा प्रभावित नहोस् भन्ने उद्देश्यले मातहतका सबै संरचनालाई आवश्यक समन्वय र सहयोग गर्न निर्देशन दिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal