15:12:40 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

जेन-जीका मुद्दा माओवादीकै एजेन्डा : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरम्भदेखि माओवादीले उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिले जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको विषय भएको बताए।

बिहीबार चितवनको भरतपुरमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। सामाजिक सञ्जालमार्फत संगठित युवाको आन्दोलन ‘नयाँ राजनीतिक चेतना’ को संकेत हो।

कार्यक्रममा प्रचण्डले जेनेरेसन जेड आन्दोलन, सरकारको लापरबाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन र वामपन्थी एकता लगायतका विषयमा धारणा राखे।

२३ गते राजधानीमा भएको आन्दोलनका क्रममा देखिएको ‘गम्भीर सुरक्षा लापरबाही’लाई घटनाको मुख्य कारण ठहर गर्दै उनले तत्कालीन प्रधानमन्त्री र सरकार प्रमुखको भूमिकाको आलोचना गरे।

‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो, तर सरकारले तयारी नगरेकाले र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो। गोली कलेज ड्रेसमा रहेका युवाको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो,’ उनले भने।

प्रचण्डका अनुसार २३ गते राति नै काठमाडौँ फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको बताए ।

उनले माओवादी केन्द्रले आन्दोलनलाई वैधानिकता दिँदै प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरेको र देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्‍याउन पहल गरेको बताए।

२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठकपछि सुरक्षाको जोखिम बढेपछि सेनाको समन्वयमा सुरक्षित स्थानमा जानु परेको प्रसङ्ग स्मरण गर्दै उनले भने, ‘हामीलाई कसैले लिएको होइन, परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौँ।’

देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को विकल्प नरहेको प्रचण्डको भनाइ छ। ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू र अन्तर्राष्ट्रिय समुदाय सबै निर्वाचनलाई प्राथमिकताका रूपमा हेर्दैछन्। जनताले पनि परिवर्तनको मार्ग निर्वाचनबाटै रोज्नेछन्,’ उनले स्पष्ट पारे।

उनका अनुसार संसद पुनःस्थापना सम्भव भए पनि उक्त एजेन्डा अब गौण बनिसकेको छ र एमाले बाहेकका सबै दल निर्वाचनमा जान सहमत भइसकेका छन्। एमालेभित्र पनि बहुमत चुनावका पक्षमा छ, ढिलोछिटो सबै दल निर्वाचनमा जान्छन्।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal