15:16:13 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता लागू

निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने

काठमाडौँ, २० पुस — आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न नपाउने व्यवस्था गरिएको छ।

आयोगले तय गरेको आचारसंहिताअनुसार कुनै पनि परियोजनाका स्रोत, साधन र सम्पत्ति राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न, उपलब्ध गराउन वा गराउन पाइने छैन। निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा लगायत आयोगद्वारा सञ्चालन गरिने कार्यक्रममा अवरोध पुर्‍याउने, निर्वाचनसम्बन्धी सामग्री वा सूचनामा तोडमोड गर्ने वा थपघट गर्ने कार्यसमेत निषेध गरिएको छ।

आचारसंहितामा सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय वा महाविद्यालयको परिसर प्रयोग गरी निर्वाचनसम्बन्धी भेला, सभा वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, क्याप, गम्छा, मास्क, लकेट, स्टिकर, लोगो, झोला, ब्याज, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न नपाइने प्रावधान राखिएको छ।

घर वा जग्गाधनीको स्वीकृति बिना कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा गरिएको छ। साथै, बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला आयोजना गर्न निषेध गरिएको छ भने सामाजिक सञ्जालमार्फत गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न नपाइने व्यवस्था समेत आचारसंहितामा समेटिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal