काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।
कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
ह्विपमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न लागेको उल्लेख गरिएको छ।
कांग्रेसले आफ्ना सांसदलाई पार्टीको निर्णयअनुसार मतदान गर्न निर्देशन दिएसँगै मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वा नपाउने विषय थप पेचिलो बनेको छ।