
काठमाडौं। पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिले श्रमिक वर्गको जीवन कष्टकर बन्दै गएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष जगतबहादुर सिंखडाद्वारा जारी प्रेस विज्ञप्तिमा पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धिले खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक वस्तुको मूल्यसमेत अचाक्ली बढेको उल्लेख गरिएको छ।
यसले विशेषगरी दैनिक ज्यालादारीमा निर्भर श्रमिक, उद्योग, यातायात, निर्माण तथा सेवा क्षेत्रमा कार्यरत कामदारहरूलाई ठूलो मार परेको जनाएको छ।
विज्ञप्तिमा न्यून पारिश्रमिकका कारण श्रमिकहरूले दैनिक जीवन धान्नसमेत कठिन भइरहेको अवस्थामा निरन्तरको महँगीले उनीहरूको जीवनस्तर झनै दयनीय र सङ्कटग्रस्त बन्दै गएको उल्लेख छ।
महासंघले वर्तमान सरकारसमक्ष तीन मुख्य माग अघि सारेको छ। जसअनुसार पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य तत्काल नियन्त्रण गरी वैज्ञानिक आधारमा समायोजन गर्न, बढ्दो महँगीलाई ध्यानमा राख्दै न्यूनतम पारिश्रमिकमा पुनरावलोकन गरी वृद्धि गर्न तथा श्रमिकको जीवन सहज बनाउन प्रभावकारी राहत प्याकेज ल्याई कार्यान्वयन गर्न माग गरिएको छ।
श्रमिकको सम्मान नै देशको साँचो सम्मान हो विज्ञप्तिमा भनिएको छ, “श्रम र श्रमिकको अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो।” महासंघले आफ्ना मागप्रति सरकार संवेदनशील बन्ने विश्वास व्यक्त गर्दै मागहरू बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।