
काठमाडौं। सोल्टी होटलमा सम्पन्न मजदुर संगठनको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) आवद्ध होटल मजदुर संगठन विजयी भएको छ। करिब सात वर्षपछि भएको यो निर्वाचनलाई होटल क्षेत्रका श्रमिकहरूले विशेष चासोका साथ हेरेका थिए।
निर्वाचन परिणामअनुसार ANTUF निकट संगठनले ७५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। उसका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट मजदुर संगठनले ६७ मत ल्याएर दोस्रो स्थानमा सीमित भयो भने एमाले निकट मजदुर संगठनले २० मत मात्रै प्राप्त गरी तेस्रो स्थानमा रह्यो।
यस निर्वाचनबाट सुमन महर्जन अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनी नेतृत्वको नयाँ कार्यसमितिले अब सोल्टी होटलका श्रमिकहरूको पेशागत हकहित, सेवा–सुविधा तथा श्रम अधिकारका सवाललाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।
सोल्टी होटलमा लामो अन्तरालपछि भएको यो निर्वाचनलाई श्रमिक एकताको सन्देशका रूपमा पनि हेरिएको छ। होटल क्षेत्रमा विगतदेखि माओवादी निकट मजदुर संगठन लोकप्रिय रहँदै आएको पृष्ठभूमिमा यस पटकको जितलाई निरन्तर श्रमिक आन्दोलनको परिणामका रूपमा विश्लेषण गरिएको छ।
विशेषगरी होटल श्रमिकको १० प्रतिशत सेवा शुल्क पुनःप्राप्तिका लागि भइरहेको पहल र संघर्षका कारण पनि श्रमिकहरू उक्त संगठनप्रति आकर्षित बनेको बताइन्छ।
श्रमिक नेताहरूले यस जितलाई “ताराको विजययात्राको सुरुआत” भन्दै अब होटल क्षेत्रका मजदुरहरूको सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्न थप सशक्त ढंगले अघि बढ्ने बताएका छन्।
यस परिणामले होटल क्षेत्रको श्रमिक राजनीतिमा नयाँ सन्तुलन र सक्रियता ल्याउने अपेक्षा गरिएको छ। श्रमिकहरूको सहभागिता र प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियाले संगठनात्मक लोकतन्त्रलाई समेत बलियो बनाएको संगठनका उप – महासचिव माधव पाण्डेले बताए।