15:12:36 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

रेडफोर्सलाई सुझाव : के प्रचण्डले जेन–जीको नेतृत्व गर्न सक्छन् ?

माओवादी निकट जेन-जी पुस्ताका युवाले देशै भरका आफ्ना पुस्तालाई समेट्ने गरि जेन-जी रेडफाेर्स गठन गरेका छन्। स्मृति तिमल्सिना संयोजक रहेको सानो चुस्त केन्द्रीय समिति बनेको छ भने पाँच प्रदेशमा संयोजक ताेकिएका साथै करिब ६५ जिल्ला र केही वैदेशिक शाखाकाे पनि संयोजक ताेकिएका छन्। जेन-जी रेड फाेर्सले माओवादी नजिक हुनाकाे कारण एजेन्डा मिलेको बताएको छ भने याे उमेर समुहका सम्पूर्ण नेपाली युवालाई जेन-जी रेडफाेर्समा गाेलबन्द हुनु आह्वान गरेको छ।

नेपालको राजनीति आज एउटा निर्णायक मोडमा पुगेको छ। जहाँ पुरानो पुस्ताले बनाएको संरचना र सोच नयाँ पुस्ताको चेतनासँग जुधिरहेको छ। देशमा राजनीतिक स्थायित्व छैन, आर्थिक असमानता बढ्दैछ, र सामाजिक मूल्यहरू क्रमशः भत्किँदैछन्। यिनै परिस्थितिमा, माओवादी आन्दोलनबाट प्रेरित युवा पुस्ता जेन-जीले नयाँ विचार, नयाँ दृष्टिकाेण र नयाँ संघर्षको बाटो प्रस्ताव गरेको छ। अन्य राजनीतिक दलका युवाहरु दुबिधामा रहेको बेला माओवादीकाे नया पुस्ता ब्यबस्थापनमा याे महत्त्वपूर्ण अभियान हाे।

माओवादी निकट याे पुस्ताले तत्कालीन नारा र एजेन्डाहरू केवल नारामात्र होइनन् यी नयाँ पुस्ताको आवाज हुन्, जसले माओवादी आन्दोलनका आदर्शहरू समाज रूपान्तरण, समानता, न्याय र स्वतन्त्रता लाई २१औँ शताब्दीको डिजिटल, आर्थिक र सांस्कृतिक यथार्थसँग जोड्ने प्रयास गरेका छन्। याे सराहनीय छ।

जेन-जी रेडफाेर्सका युवाले एजेन्डा तय गर्दा माओवादी जनयुद्ध ,६२/६३ काे आन्दोलन र मधेस बिद्रोहका उपलब्धिहरु कुनै पनि हालतमा नगुम्ने गरि एजेन्डा तय गर्नुपर्दछ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, महिला आदिवासी, जनजाति, मधेसी, दलित अल्पसंख्यक, पिछडिएका बर्गका स्थापित अधिकारहरु सुरक्षित हुनपर्दछ।

पुरानो राजनीतिक प्रणाली बदल्ने कुरा दशकौँदेखि भनिँदै आएको हो। युवा पुस्ताले सोच बदल्ने प्रस्ताव गरेको छ। उनीहरूको बुझाइमा, भ्रष्टाचार, पदलिप्सा र व्यक्तिगत स्वार्थको जरामा समस्या सोचमै छ। त्यसैले यो एजेन्डा मानसिक र वैचारिक क्रान्तिको उद्घोष हो।जहाँ नेताको सोच, नागरिकको चेतना र संस्थाको प्रवृत्ति परिवर्तनका मुख्य लक्ष्य हुनु पर्दछ।

अबको युवा पुस्ताले नयाँ मार्क्सवादी व्याख्या खाेज्नु पर्दछ। त्यो भनेको डिजिटल युगको वर्ग संघर्ष हाे। जेन-जीले अब मार्क्सवादलाई केवल कारखानाको मजदुर र जमीन्दारबीचको संघर्षमा सीमित छैन, यो युग डिजिटल अर्थतन्त्रको हो, जहाँ डेटा, प्रविधि र सूचना पनि उत्पादनका माध्यम बनेका छन्। त्यसैले हाम्रो एजेन्डा “डिजिटल माक्र्सवाद” हाे जसले वर्ग संघर्षलाई आधुनिक समाजका संरचनासँग जोड्छ र विचारमा नयाँपन ल्याउँछ।

रेडफाेर्स युवाहरुले नेपालमा शिक्षाको व्यापारीकरण र बेरोजगारीको समस्या गम्भीर बन्दै गएको छ। सार्वजनिक शिक्षामा सुधार, प्राविधिक शिक्षामा लगानी वृद्धिका साथै उत्पादनमुखी रोजगार नीति पनि जेनजी पुस्ताको एजेन्डा बन्नुपर्छ । शिक्षालाई व्यवसाय होइन, अधिकार हो” भन्ने सिद्धान्तमा विश्वास गर्दै यसका लागि एजेन्डा तय गर्न अग्रसर हुनुपर्दछ।

राजनीतिक दलहरूमा पुस्तान्तरणकाे सन्दर्भ पनि उठिरहेको छ। पुस्तान्तरण भनेको मागेर वा दिएर पाइने कुरा हाेइन तर राज्यसत्ता र दलमा युवा नेतृत्वको प्रवेशलाई सहज र बाध्यकारी बनाउने हाे भने युवा हरुकाे नेतृत्व विकास सगसगै हुने कुरा अनिवार्य छ।

राजनीतिक दलहरूमा दशकौँदेखि पुरानो अनुहारहरू छन्। नेतृत्वमा पुस्तागत रूपान्तरण बिना राजनीतिक सुधार सम्भव छैन भन्ने जेनजी युवाहरूको ठम्याइ छ। केही हदसम्म याे सत्य भएपनि पुर्ण सत्य चाहिँ याे हाेइन। पुरानो अनुभवले राजनीतिमा ठुलो अर्थ राख्दछ। अझ हाम्रो जस्तो सामरिक महत्त्व बाेकेकाे मुलुकमा यस्काे अर्थ निक्कै ठुलाे छ।

भ्रष्टाचार र अवसरवादविरुद्ध विद्रोह मात्रै हैन याे पुस्ताले राज्यको लागि ठुलो लडाइँ लड्नु पर्ने छ। जेनजी पुस्ताले वर्गीय समानता र सामाजिक न्यायको नयाँ परिभाषा खाेज्नुपर्ने पनि देखिन्छ। यसले अब लिङ्ग, भूगोल, लैङ्गिक पहिचान र सांस्कृतिक विविधता सबैकुरा ख्याल गर्नुपर्ने हुन्छ। जेनजी पुस्ताले समावेशी समाजको निर्माणका लागि ठोस नीतिगत कार्ययोजनाको माग गर्नु पर्छ। जसले केवल अवसर होइन, सशक्तीकरण पनि सुनिश्चित गर्छ।

जेनजी पुस्ताले समाजवादलाई केवल विचार होइन, प्रविधिसँगै अभ्यास गर्ने सोच बनाउनु राम्रो हुन्छ। कृत्रिम बुद्धिमत्ता , डिजिटल वित्त, र साइबर जगतमा समाजवादी दृष्टिकोण लागू गर्ने प्रयास ‘डिजिटल माक्सवाद ’ को मूल उद्देश्य हुनुपर्छ। त्यसैले यो पुस्ता विचार र प्रविधि दुबैलाई क्रान्तिको औजार रुपमा मान्ने र विकास गर्ने पुस्ता हुनुपर्छ। जेनजी पुस्ताले कृषि र उत्पादनमुखी अर्थतन्त्रको पुनर्जीवनका लागि काम गर्नु पर्दछ।

जेन-जी रेड फाेर्सले कामलाई सम्मान र उत्पादनलाई आधार भन्ने नारा स्थापित गर्नुपर्दछ। नेपाल आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी दिशातर्फ फर्किनुका साथै निर्यात गर्न सक्ने तयारी गर्नु पर्छ। युवाहरू अब विदेश पलायन होइन, आफ्नै गाउँमा उद्योग, कलकारखाना ,सहकारी र उत्पादनमा जोड दिनु राम्रो हुन्छ।

सांस्कृतिक रूपमा नेपाल उपभोगवादी सोचतर्फ धकेलिँदै गएको छ। जेन-जी आत्मनिर्भर, श्रममूलक र जनपक्षीय जीवनशैली र नेपालीपनको बन्नुपर्छ। सामाजिक सञ्जाल र मनोरञ्जनका माध्यमलाई पनि संस्कृतिक चेतना जगाउने उपकरणका रूपमा जेन -जीले प्रयोग गर्नुपर्ने हुन्छ। यो पुस्ताले विचार र कर्मद्वारा क्रान्ति गर्ने बाटाे तय गर्नु पर्छ। माओवादी आन्दोलनको मूल आत्मा परिवर्तनलाई अब सृजनात्मक र सकारात्मक रूपान्तरण बाट अघि बढाउने प्रयत्न गर्नुपर्दछ। महिला, मधेसी, आदिवासी, दलित र सीमान्तकृत युवाको सशक्तीकरण गर्ने बाटाे याे पुस्ताले गर्नुपर्दछ।

याे पुस्ताको दृष्टिमा नेतृत्वमा विविधता र प्रतिनिधित्व नहुँदासम्म क्रान्ति अधूरो रहन्छ र सबै वर्गका युवालाई समान अवसर दिने नीति र व्यवहारिक कार्यान्वयनको माग याे रेड फाेर्सकाे हुनुपर्छ। नयाँ पुस्ता, नयाँ सोच, नयाँ क्रान्ति माओवादी विचारको आधुनिक रूपान्तरण हो,जेन-जी रेड फाेर्सले माओवादी आन्दोलनको आत्मालाई नयाँ ढाँचामा रूपान्तरण गर्ने प्रस्ताव गर्नुपर्दछ। यो क्रान्तिलाई बन्दुक वा सडकमै सीमित गर्नुहुन्न। यो अब विचार, प्रविधि र चरित्रमा केन्द्रित हुनुपर्छ।

के प्रचण्डले जेन-जी एजेन्डाकाे नेतृत्व लिन सक्छन् ?
पक्कै पनि अहिले जेन-जी आन्दोलन र एजेन्डा नेतृत्व बिहिनताले गर्दा अलपत्र परेको छ।समकालीन राजनीतिक नेतृत्वमा प्रचण्ड जस्तो गतिशील र चलाख नेता नेपालमा अरु छैनन। एजेन्डा बुझ्ने र एजेन्डा तय गर्न सक्ने क्षमता उनी सग छ।निम्न कारणहरुले गर्दा प्रचण्ड जेन-जी आन्दोलनको एजेन्डा बाेक्न सक्छन् भन्ने विश्वास आम नागरिकमा देखिन्छ।

प्रचण्डले नेपालमा सामन्तवादविरुद्ध सशस्त्र क्रान्ति चलाएर राजनीतिक परिवर्तन सम्भव पारे।जेन -जी-सिस्टम होइन, सोच बदलौँ” अभियान पनि त्यही क्रान्तिकारी सोचको आधुनिक रूप हो। प्रचण्ड संघिय गणतन्त्रका स्थापना गर्ने नेता हुन। अरु राजनीतिक दल र तिनका नेता गणतन्त्र सम्भव छैन भनेर हिडिरहेका समयमा प्रचण्डले सम्भव पारेका हुन्। आज जेन-जी पुस्तालाई समानता र आत्म–पहिचानको अधिकार प्राप्त भएको छ भने त्यो प्रचण्डकै राजनीतिक उपलब्धि हो। दलित, महिला, जनजाति, मधेसी र पिछडिएका समुदायको आवाज मुख्यधारमा ल्याउने साहस प्रचण्डले देखाए, जुन जेन-जीको ‘इन्क्लुसिभ भिजन’ सँग मेल खान्छ।

उनले असम्भव देखिएका नीतिहरू (गणतन्त्र, संविधान, लैङ्गिक समानता) कार्यान्वयन गरेर परिवर्तन सम्भव हुन्छ भन्ने प्रमाणित गरेका छन्।समयको मागअनुसार आफूलाई अद्यावधिक गर्न सक्ने नेता प्रचण्ड हुन्। उनले नेपालको राष्ट्रियता र अन्तर्राष्ट्रिय सम्बन्धबीच सन्तुलन राखेका छन्, जुन ग्लोबल जेन-जीपुस्ताका आकांक्षासँग जोडिन्छ।
जेन-जीको एजेन्डा बहस, सहकार्य र सहभागितामा केन्द्रित छ; प्रचण्ड त्यसमा सबैभन्दा अभ्यास प्राप्त नेता हुन्।

नयाँ पुस्ताको हक, अधिकार र स्वतन्त्रता सुनिश्चित संविधान प्रचण्डकै नेतृत्वमा बनेको हो। यो जेन-जी को हकको कानुनी आधार हो। प्रचण्डले असम्भव जस्तो लागेको परिवर्तन सम्भव पारे; उनको अनुभव, दृष्टि र प्रेरणा नयाँ पुस्ताको दिशानिर्देशक बन्न सक्छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal