15:12:37 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

अबको पाँच बर्ष प्रचण्डकै नेतृत्व -स्मृति तिमल्सिना

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट ‘जेनजी रेड फोर्स’ले संगठन बिस्तारमा तिव्रता दिएको छ। अनेरास्ववियु(क्रान्तिकारी)की केन्द्रीय सदस्य समेत रहेकी स्मृति तिमिल्सिनाको संयोजकत्वमा गठन भएको याे फाेर्सले युवाहरु संगठित गर्ने अभियान चलाएकाे छ।

सङ्गठनको नेतृत्व जेनजीले गर्ने भए पनि २९ वर्ष सम्मका युवा समेट्ने गरी फोर्स गठन गरिएको संयोजक तिमिल्सिनाकाे कथन छ।‘अहिलेको सङ्क्रमणकालीन अवस्थामा देश साम्राज्यवादी तथा प्रतिक्रियावादीको रण मैदान बन्ने खतरा छ । सरकार विभिन्न एनजिओ/आइएनजिओबाट सञ्चालित देखिन्छ । देश नै नरहने अवस्था छ । जेनजी रेड फोर्स गठन गर्नुको उद्देश्य पार्टीलाई रूपान्तरण गरी चार/पाँच वर्षमा नम्बर एक पार्टी बनाउने हो’, रेडभ्वाइसनेपाल डटकमलाई संयोजक तिमल्सिनाले बताइन् ।

उनका अनुसार अहिलेसम्म ५७ जिल्लामा संयोजक ताेकिएकाे छ । चार प्रदेशमा र केही बाहिरी देशमा पनि संयोजक ताेकिएकाे छ।सबै जिल्ला र प्रदेशको संयोजक टुङ्गो लागेपछि सबै संग छलफल गरि  औपचारिक घोषणा गर्ने तयारी छ। तिहार लगत्तै एक्सनमा उत्रिने तिमिस्सिनाले जानकारी दिइन् ।


‘म एउटै म्यासेज दिन चाहन्छु कि जति पनि पूर्वजनमुक्ति सेनामा लागेका अग्रज छन्, हाम्रा महान् योद्धाहरू, सहिद परिवारका मान्छेहरू जति जनयुद्धमा होमिएका थिए। नेतृत्वले वास्ता नगर्दा पार्टी त्याग गरेर गए वा निष्क्रिय बसेका छन रेड फोर्सले सुरुमा उनीहरूलाई आफ्नो घर फर्काउन चाहन्छ’, उनले भनिन्, ‘उनीहरुले महान् जनयुद्ध गरेर आए, राज्यबाट निर्मम हत्या भयो । पार्टी निर्माणमा यत्रो बलिदान दिए । यो पार्टीलाई टुक्रिन दिन हुँदैन । दुई चार जना गुटको आधारमा यो पार्टीलाई कब्जा गर्ने, तहसनहस गर्नेतिर लागिरहेकाे देखिन्छ ।

तिमिल्सिनाले पार्टीभित्र देखिएका गुटबन्दीको अन्त्य, देशको राष्ट्रियता जोगाउनका लागि आफूहरू मर्न र मार्न पनि तयार रहेको बताइन् । ‘देशको सङ्क्रमणकालीन अवस्थामा लड्न र मर्न परे नि हामी तयार छौँ ।माओवादी केन्द्रमा चरम व्यक्तिवाद गुटवादी हाबी भइराखेको छ । यसलाई तोडेर नै छाड्छौँ । गुटवादी नेताहरूलाई पार्टीबाट निकालेर नै छाड्छौँ । माओवादीमा पनि कोही भ्रष्टाचारी छन् भने तीनलाई पनि हामी भौतिक कारबाही गर्छाैँ । तिनीहरूले हाम्रो पार्टीको महान् जनयुद्धलाई गनाउने पारेका छन्’, उनले भनिन् ।

अहिले पूर्वदेखि पश्चिमसम्म पार्टीको १०/११ लाख कार्यकर्ता रहेकामा आगामी पाँच वर्षका लागि पार्टी अध्यक्ष प्रचण्ड नै बन्नुपर्ने मत रहेकाले नेतृत्व परिवर्तनको पक्षमा उभिन नसक्ने उनले बताइन् । उनले भनिन्–‘तल्ला तहका ९५ प्रतिशत पाँच वर्ष प्रचण्डलाई नै नेतृत्व दिनुपर्छ भन्ने पक्षमा छन् ।

प्रचण्ड बाहेक अहिलेको स्थिति सम्हाल्न सक्दैनन् भनेका छन् । पाँच वर्षपछि जेनजी नै आएर पार्टी हाँके पनि हाँक्नोस् भन्ने ग्राउण्ड लेभलको मत छ । हाम्रो पार्टी गणतन्त्रवादी भएका कारणले बहुमतको कदर गर्नुपर्छ । पार्टीभित्रै बहुमतले प्रचण्ड चाहन्छन् भने हामीले कसरी गणतन्त्रको अवहेलना गर्न सक्छौँ ?’ जेनजी सङ्गठनलाई पार्टी नेतृत्वबाट नै मान्यता पाएको दाबी गर्दै उनले अध्यक्षको मातहतमा सङ्गठन रहने स्पष्ट पारिन् ।

पार्टीमा जो अध्यक्ष भए पनि जेनजी सङ्गठन उसैको मातहतमा रहने हुँदा गुटबन्दी हुन नपाउने तिमिल्सिनाको भनाइ छ । पूर्वजनमुक्ति सेनाका परिवारबाट राजनीतिमा सक्रिय रहेकी तिमिल्सिनाले माओवादीलाई नम्बर एक पार्टी बनाएर देशको आमूल परिवर्तन गरेरै छाड्ने आत्मविश्वास व्यक्त गरिन् ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal