
कञ्चनपुर — इजरायलमा हमास लडाकुको नियन्त्रणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।
जोशीको शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाटमा पुर्याइएको थियो। अन्त्येष्टिमा परिवारका सदस्य, स्थानीयवासी र सुरक्षाकर्मीहरूको उपस्थिती थियो।

उनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो। राति अबेर घर पुगेको शव आज बिहान अन्त्येष्टि गरिएको हो।

विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी समेत घर पुगेका थिए। दुई वर्षअघि अध्ययनको सिलसिलामा सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा बन्धक बनेका थिए।
करिब दुई वर्षसम्म उनको अवस्था अज्ञात रह्यो। इजरायल र हमासबीच हालै भएको युद्धबिरामपछि बन्धकहरुको अवस्था खुल्दै जाँदा विपिनको मृत्यु भएको पुष्टि भएको हो।
राष्ट्रिय समाचार समिति (रासस)का अनुसार, इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ। त्यसैले नेपालमा पुनः पोष्टमार्टम आवश्यक नपरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
तिहारकै बेला दाजुको शव घर आइपुग्दा विपिनको बहिनी साथै परिवार शोकमा डुबेको छ। “बहिनी पुष्पा यसपालि भाइटीकामा दाजुसँग भेट हुने आशामा थिइन्,” परिवारका सदस्य किशोर जोशीले भने, “तर लक्ष्मीपूजाका दिन दाजुको शव घर आइपुग्दा घरभरि सन्नाटा छायो।”

विपिन जोशीसहित सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी सन् २०२३ मा हमासको आक्रमणमा मारिएका थिए। विपिनको मृत्यु पुष्टि भएपछि दुई वर्षदेखिको पर्खाइ शोकमा परिणत भएको छ।