
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग पार्टी एकताको सन्दर्भलाई लिएर एकीकृत समाजवादी भित्र मतभेद उत्पन्न भएको छ। एकिकृत समाजवादीकाे केन्द्रीय समितिको बैठकमा नेताहरुबीच एकताको विषयमा फरक दृष्टिकोण आएपछि कार्यकर्ताहरु फरकफरक कित्तामा उभिन थालेका छन ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार १३ गतेको बैठकमा २५ जना सदस्यहरुले धारणा राखेका थिए। आज १४ गते अहिलेसम्म २१ जनाले आफ्नो धारणा राखिसकेका छन्। बैठकमा बोल्ने ७० प्रतिशत नेताहरुले विचार, सिद्धान्त, नीति र कार्यदिशा मिल्ने पार्टीसँग एकता गर्नुपर्ने राय राखेका छन्। त्यस्तै ३० प्रतिशत नेताहरु तत्कालको परिस्थितिमा कुनै पनि दलसँग एकता गर्न नहुने पक्षमा उभिएका छन्।
एकिकृत समाजवादीमा प्राय जनमत भएका नेताहरू नेकपा (माओवादी केन्द्र) संग पार्टी एकिकरणकाे लागि तयार रहेको देखिन्छ। त्यो सङ्ख्या पार्टीमा ७० प्रतिशत रहेको छ भने एकीकरण गर्नु हुन्न भन्ने पक्ष ३० प्रतिशत रहेको छ।
पार्टी एकीकरण गर्नुपर्छ भन्नेमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता वेदुराम भुसाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, उपमहासचिव मेटमणि चौधरीलगायतका नेताहरुले माओवादीसँग पार्टी एकता गरेर नयाँ संरचनामा जानुपर्ने धारणा राखेका छन्।
समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलगायतका नेताहरु भने तत्काल पार्टी एकता गर्नुहुन्न भन्ने पक्षमा छन्। उल्लेखित नेताहरू समाजवादीमा जनमत नभएका नेताहरू हुन। एकताको विषयमा मतभेद देखिए पनि साँझसम्म औपचारिक निर्णय सर्वसम्मत रुपले पारित हुनेछ श्रोतले बतायो ।