
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले पौष ५ गते शनिवार काठमाडौंको भृकुटीमण्डपमा बागमतीस्तरीय एकता सन्देश सभा आयोजना गर्ने भएको छ। सभामा काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट हजारौँको सहभागिता रहने आयोजकले जनाएका छन।
कार्यक्रमका लागि विभिन्न क्षेत्रका जनसमुदायलाई फरक फरक आर्कमा जम्मा भई र्यालीसहित भृकुटीमण्डप पुग्ने व्यवस्था गरिएको छ।
कुनकुन ठाउँबाट शुरूवात हुनेछ जुलुस?
काठमाडौंको पश्चिम भेग अन्तर्गत नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर, दक्षिणकाली नगरपालिका तथा क्षेत्र नं. ८, ९ र १० का साथै चितवन र धादिङबाट नागढुंगा हुँदै आउने जनसमुदाय बिहान ११ बजे सुन्धारामा जम्मा हुनेछन्। त्यहाँबाट रत्नपार्क विद्युत प्राधिकरण हुँदै भृकुटीमण्डप प्रवेश गर्ने कार्यक्रम छ।
ललितपुरबाट आउने जनसमुदाय कुपण्डोलमा जम्मा भई थापाथली र त्रिपुरेश्वर हुँदै सुन्धारामा मिसिनेछन्।
काठमाडौंको उत्तरी भेग तारकेश्वर, टोखा, महानगर क्षेत्र नं. ५, ६ र ७ तथा नुवाकोट र रसुवाबाट आउने जनसमुदाय बिहान ११ बजे रत्नपार्क पुग्नेछन्। उनीहरू बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्नेछन्।
बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनहरा र महानगर क्षेत्र नं. ३, ४ र ५ का जनसमुदाय बिहान ११ बजे डिल्लीबजार चारखालमा जम्मा हुनेछन्। उनीहरू शान्तिबाटिकाबाट आउने जुलुससँग मिसिएर पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछन्।
काठमाडौं महानगर क्षेत्र नं. १, २ तथा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट कोटेश्वर क्रस गरेर आउने जनसमुदाय बिहान ११ बजे बबरमहलमा जम्मा हुनेछन्। त्यसपछि भद्रकाली चोक हुँदै भृकुटीमण्डपतर्फ र्याली निकालिनेछ।
विभिन्न स्थानबाट र्यालीसहित आएका जुलुसहरू भृकुटीमण्डपमा टी आकारमा तयार पारिएको मञ्चको तीन साइड रत्नपार्क, भद्रकाली र पद्मोदय मोडतर्फ तोकिएको ´टी` आकारमा बस्ने व्यवस्था गरिएको छ। जुलुस बिहान ११ः३० बजे सुरु भई १२ बजे मञ्चमा पुग्ने कार्यक्रम छ।
सभालाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्ड, सहसंयोजक क. माधव नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। कार्यक्रममा विभिन्न झाँकीसहितका जुलुस, सांगीतिक प्रस्तुति, सबैले सुन्न सक्ने ध्वनि प्रणाली र विभिन्न स्थानमा स्क्रिनको व्यवस्था गरिएको छ। सहभागीका लागि बसेकै स्थानमा स्वयंसेवकमार्फत खानेपानीको व्यवस्था गरिनेछ।
आयोजकले मास व्यवस्थापन र सुरक्षाका लागि खटिएका स्वयंसेवकको निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै कार्यक्रम सकिएपछि स्वयंसेवकलाई साथ दिँदै जथाभावी फालिएका फोहोर संकलन गर्न पनि सहभागीलाई अनुरोध गरिएको छ। कार्यक्रम सुरु भएको करिब दुई घण्टाभित्र सभा सम्पन्न हुने जनाइएको छ।