15:16:33 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु, पुस २७ मा हनुमानढोका पुग्ने

गोरखा, २१ पुस — नेपाल एकीकरण अभियानमा प्रयोग भएको ऐतिहासिक पदमार्गमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले आयोजना गरेको गोरखा–काठमाडौँ एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि सुरु भएको छ।

पदयात्रा आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट सुरु भई पुस २७ गते काठमाडौँस्थित हनुमानढोका दरबारसम्म पुग्ने कार्यतालिका रहेको छ।

पदयात्राको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, नेपाली सेनाका पृतनापति भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ लगायतले गर्नुभएको हो।

नेपाली सेनाको गोरखास्थित रुद्रध्वज गणबाट अधिकृत कमान्डसहितको पदयात्री टोलीलाई नेपाली सेनाको पहिलो पाँच कम्पनी— श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणका झन्डा तथा टर्च प्रदान गरी यात्रा प्रारम्भ गरिएको गणपति विरोध रिजालले जानकारी दिनुभयो। गोरखा दरबार परिसरमा आयोजित कार्यक्रममा टर्च र झन्डा हस्तान्तरण गरी टोलीलाई बिदाइ गरिएको थियो।

पदयात्रामा सहभागी टोली सोमबार पीपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेँसी पुगेर धादिङस्थित नेपाली सेनाको टोलीलाई टर्च र झन्डा हस्तान्तरण गर्नेछ। त्यसपछि धादिङबाट नुवाकोट हुँदै काठमाडौँसम्म क्रमशः विभिन्न गणहरूले पदयात्रा अगाडि बढाउनेछन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते हनुमानढोका दरबारमा आयोजना हुने कार्यक्रमका लागि पदयात्री टोलीले पुस २६ गते साँझ हनुमानढोकास्थित गुल्मलाई टर्च र झन्डा हस्तान्तरण गर्ने कार्यतालिका छ।

नेपाली सेनाका अनुसार ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सन्दर्भमा गोरखाबाट पदयात्रा सुरु गरिएको हो। ऐतिहासिक एकीकरण मार्गमा रहेका कोट, गढी तथा स्मारकको संरक्षण, प्रचारप्रसार र विकास गर्ने उद्देश्यले नेपाली सेनाले २०७६ सालदेखि यो पदयात्रा आयोजना गर्दै आएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal