
काठमाडौँ। टि २० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा पाकिस्तानले संघर्षपूर्ण जित निकाल्दै प्रतियोगिताको सुरुआत सुखद बनाएको छ। शनिबार कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट ग्राउन्डमा भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ बल बाँकी रहँदा ३ विकेटले हरायो।
भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरिसकेको पाकिस्तानका लागि यो जित निकै महत्वपूर्ण मानिएको छ। यस जितसँगै उसले २ अंक जोड्दै अंक तालिकामा बलियो सुरुआत गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको पाकिस्तानले नेदरल्यान्ड्सलाई १९.५ ओभरमै १४७ रनमा समेट्यो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले २९ बलमा ३७ रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे। बास डे लिडले ३० रन जोडे पनि अन्य ब्याटरबाट अपेक्षित साथ मिलेन। पाकिस्तानका बलरमध्ये सलमान मिर्जा सबैभन्दा सफल रहे, उनले २४ रन खर्चेर ३ विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सुरुआत राम्रो गरे पनि बीचमा लगातार विकेट गुमाउँदा खेल रोमाञ्चक मोडमा पुगेको थियो। ओपनर साहिबजादा फरहानले ४७ रनको महत्वपूर्ण इनिङ्स खेले। एक समय ३ विकेटमा ९८ रनको अवस्थामा रहेको पाकिस्तान १०० रन पार गर्ने क्रममा ५ विकेट गुमाएर दबाबमा परेको थियो।
तर अन्त्यतिर फाहिम असरफले आक्रामक ब्याटिङ गर्दै खेलको रूप नै बदलिदिए। उनले केवल ११ बलमा २९ रन प्रहार गरेपछि पाकिस्तान १९.३ ओभरमा ७ विकेट गुमाएर १४८ रन बनाउँदै लक्ष्य पूरा गर्न सफल भयो।
यससँगै पाकिस्तानले कठिन परिस्थितिबाट जित निकाल्दै प्रतियोगितामा आत्मविश्वासपूर्ण सुरुआत गरेको छ।