14:28:45 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

काठमाडौँ–७ मा सहरी–ग्रामीण विभेद अन्त्य गर्ने वसन्त मानन्धरको प्रतिबद्धता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नम्बर ७ मा चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरू आ–आफ्ना एजेण्डासहित मतदातामाझ पुगिरहेका बेला काठमाडौँ–७ बाट वसन्त मानन्धर ले सहरी–ग्रामीण असमानता अन्त्यलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मानन्धरले आफ्नो निर्वाचन क्षेत्रभित्र आधारभूत पूर्वाधार, यातायात र स्वच्छ खानेपानीको गम्भीर समस्या रहेको उल्लेख गर्दै ती विषयलाई संघीय नीतिसँग जोडेर दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

उनका अनुसार काठमाडौँ महानगरपालिका सँग सिमाना जोडिएका सहरी क्षेत्रदेखि तारकेश्वर नगरपालिका का दुर्गम बस्ती, बासबारी आसपासका क्षेत्र तथा धादिङ जिल्ला र नुवाकोट जिल्ला सँग जोडिएका स्थानहरूसम्म अझै पनि न्यूनतम पूर्वाधारको अभाव देखिन्छ।

“काठमाडौँको सहरी क्षेत्रसँगै अत्यन्त दुर्गम अवस्था रहेका बस्तीहरू यही भूगोलभित्र पर्छन्। विकासको न्यूनतम पहुँचसमेत नपुग्नु लज्जास्पद विषय हो,” उनले भने।

मानन्धरका अनुसार विशेषगरी तारकेश्वर–३ र ५ का केही बस्तीमा वर्षात्का बेला सडक अवरुद्ध हुने र आवतजावत ठप्प हुने समस्या छ। “यो सिजनमै हिँडडुल गर्न कठिन छ भने वर्षात् लागेपछि अवस्था झन् जटिल हुन्छ,” उनले उल्लेख गरे।

खानेपानीको समस्या पनि उस्तै गम्भीर रहेको उनले बताए। उपत्यकामा मेलम्ची खानेपानी आयोजना मार्फत पानी आपूर्ति भइरहे पनि क्षेत्र नम्बर ७ का कतिपय बस्तीमा अझै स्वच्छ खानेपानीको पहुँच नपुगेको उनको भनाइ छ।

त्यस्तै, नागार्जुन नगरपालिका का ग्रामीण क्षेत्रमा पनि पूर्वाधार र सेवा–सुविधाको कमी देखिएको उनले बताए। आफ्नो क्षेत्रको अवलोकनका क्रममा धुलाम्मे सडक, खाल्डाखुल्डी र पहुँच नपुगेका बस्ती देख्दा आफूलाई आत्मग्लानी महसुस भएको उनले स्वीकार गरे।

सांस्कृतिक रूपमा धनी यस भूगोललाई योजनाबद्ध रूपमा पर्यटनसँग जोड्न सके स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना गर्न सकिने उनको धारणा छ।

मानन्धरले स्थानीय र प्रदेश तहका सीमित योजनाले मात्र संरचनात्मक समस्या समाधान सम्भव नभएको उल्लेख गर्दै संघीय सरकारको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताए। निर्वाचित भए संघीय संसदमार्फत आवश्यक नीति, बजेट र कार्यक्रम ल्याई समावेशी, सन्तुलित र दीगो विकासलाई अघि बढाउने उनको प्रतिबद्धता छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal