15:22:14 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

नेपाल चिकित्सक संघको निर्वाचन मिति तय, सर्वपक्षीय सहमतिमा नयाँ कार्यतालिका

काठमाडौं। नेपाल चिकित्सक संघको आगामी निर्वाचन मिति अन्ततः सर्वपक्षीय सहमतिमा तय गरिएको छ। २०८२ साल चैत १४ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले सबै पक्षसँग छलफल गरी निर्वाचनको नयाँ मिति निर्धारण गर्ने निर्णय गरेको हो।


यसअघि विभिन्न कारणले पटक पटक निर्वाचन मिति परिवर्तन हुँदै आएकोमा उक्त बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। सहमति अनुसार उपत्यका बाहिरका क्षेत्रमा २०८३ साल वैशाख ४ र ५ गते मतदान हुनेछ भने काठमाडौं उपत्यका भित्र २०८३ साल वैशाख १८ र १९ गते निर्वाचन हुने तय गरिएको छ।


नेपाल चिकित्सक संघको निर्वाचन प्रत्येक तीन वर्षमा एकपटक हुने प्रावधान रहेको छ। संघमा हाल १४ हजारभन्दा बढी सदस्य रहेका छन्, जसमा चिकित्सा तथा दन्त चिकित्सक दुवै समावेश छन्। यस निर्वाचनमार्फत अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, सातै प्रदेशका लागि उपाध्यक्ष ७, महासचिव १, सहसचिव १, कोषाध्यक्ष १, सह–कोषाध्यक्ष १ र सदस्य ६ जना चयन गरिनेछ।


अध्यक्ष पदका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण प्रसाद भुसाल प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षमा डा. अजय कुमार मिश्र, डा. किर्तीपाल सुवेदी र डा. संजीव तिवारी उम्मेदवार रहेका छन्।


प्रदेश संयोजक उपाध्यक्ष पदहरूमा कोशी प्रदेशका लागि डा. हरि शंकर कार्की, डा. रोशन खड्का र डा. टंक प्रसाद बराकोटी; मधेश प्रदेशका लागि डा. अमित रञ्जन मिश्र, डा. मोहम्मद अनामुल हक र डा. उदय नारायण सिंह; वाग्मती प्रदेशमा डा. अकानन्द सिंह, डा. अरुण शाही, डा. रुबस नाथ योगी र डा. सुभाष भट्टराई उम्मेदवार रहेका छन्।


त्यस्तै गण्डकी प्रदेशमा डा. नवराज लाम्दारी र डा. यज्ञराज सिग्देल; लुम्बिनी प्रदेशमा डा. लक्ष्मण शर्मा, डा. नन्दा कुमारी गुरुङ र डा. सन्तोष पोखरेल; कर्णाली प्रदेशमा डा. अनुप मंगल समाल, डा. रबिन खड्का र डा. सरोज गिरी तथा सुदूरपश्चिम प्रदेशमा डा. निरज अर्याल र डा. प्रमोद जोशी प्रतिस्पर्धामा छन्।


महासचिव पदमा डा. अमृत भुसाल, डा. विश्वराज दवाडी र डा. कालु सिंह खत्री; कोषाध्यक्षमा डा. विनोद कुमार महासेठ, डा. चाँदनी जैसवाल र डा. संयुक्त आचार्य; सहसचिवमा डा. हुलास अग्रवाल, डा. राम जीवन प्रसाद र डा. सन्तोष अधिकारी तथा सह–कोषाध्यक्षमा डा. राजकुमार दंगाल, डा. सुभाष गुरुङ र डा. तेजसु सिंह मल्ल उम्मेदवार रहेका छन्।


सदस्य पदका लागि ६ स्थानमा १८ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ, जसले निर्वाचनलाई थप रोचक बनाएको छ।
लामो समयदेखि प्रतिक्षा गरिएको यो निर्वाचनले संघको नयाँ नेतृत्व चयन गर्ने भएकाले चिकित्सक समुदायमा यसको विशेष महत्व रहेको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal