14:28:34 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

सात वर्षपछि सञ्चालनमा नागढुङ्गा सुरुङमार्ग

काठमाडौं। सात वर्षअघि निर्माण सुरु गरिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्ततः सञ्चालनका लागि तयार भएको छ। जापानी प्रविधिमा निर्माण भएको सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरिने भएको छ।

उद्घाटनपछि केही समय सुरुङमार्गबाट एम्बुलेन्ससहित आपत्कालीन सवारी साधन मात्र सञ्चालन गरिनेछ। पूर्ण रूपमा सर्वसाधारणका लागि खुला गर्ने मिति भने सञ्चालन व्यवस्थापनको तयारीअनुसार तय गरिने जनाइएको छ।

५.६७ किलोमिटर लामो परियोजनाअन्तर्गत २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण गरिएको छ। गुर्जुधारा फ्लाइओभरबाट सिस्नेखोलासम्म जोड्ने यो सुरुङमार्ग सञ्चालनमा आएपछि धादिङको नौबिसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी करिब चार किलोमिटर छोटिनेछ। साथै, नागढुङ्गा सडकखण्डमा हुने लामो ट्राफिक जाम, धुलो, पहिरो तथा दुर्घटनाको जोखिम पनि उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

नागढुङ्गा टनेल अपरेसन एन्ड मेन्टिनेन्सकी प्रवक्ता जिज्ञासा अधिकारीका अनुसार सुरुङमार्गमा कार, जिप, माइक्रोबस, मिनिबस, ट्रक तथा ४.७५ मिटरभन्दा कम उचाइ भएका सवारी साधनलाई मात्र प्रवेश अनुमति हुनेछ। तर डिजेल, पेट्रोल, ग्यास बुलेट तथा पशुपक्षी बोकेका सवारी साधनलाई प्रवेश निषेध गरिएको छ।

सुरुङमार्गमा सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै मुख्य सुरुङसँगै २ हजार ६८८ मिटर लामो छुट्टै उद्धार (इभ्याकुएसन) सुरुङ निर्माण गरिएको छ। आपत्कालीन अवस्थाका लागि मुख्य सुरुङ र उद्धार मार्ग जोड्ने ७ वटा निकास ढोका हरेक ३७५ मिटरको दूरीमा राखिएको छ।

आगलागी नियन्त्रणका लागि ५५ वटा फायर हाइड्रेन्ट, ६६ वटा फायर डिटेक्टर तथा हरेक ५० मिटरमा आगो नियन्त्रण प्रणाली जडान गरिएको छ। आगलागी वा धुवाँ देखिएमा प्रणालीले स्वतः ट्राफिक कन्ट्रोल रुमलाई सूचना दिने, अलार्म बजाउने तथा जेट फ्यान सञ्चालन गरी धुवाँ बाहिर निकाल्ने व्यवस्था गरिएको छ।

भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै विशेष प्रकारका लचिलो ड्रेनेज पाइप प्रयोग गरिएको छ, जसले दबाब परेपछि पनि पुनः आफ्नो आकारमा फर्किने क्षमता राख्छ।

सुरुङमार्ग प्रयोग गर्नुअघि चालकले टोल प्लाजामा शुल्क तिर्नुपर्नेछ। शुल्क सङ्कलनका लागि इलेक्ट्रोनिक टोल कलेक्सन (ETC) र रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) प्रणाली जडान गरिएको छ, जसले सवारी साधनको प्रकार स्वतः पहिचान गरी शुल्क निर्धारण गर्नेछ।

सुरुङभित्र प्रवेश गर्दा सबै चालकले हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्नेछ। सुरुङभित्रको प्रकाश बाहिरको उज्यालोअनुसार स्वतः समायोजन हुने व्यवस्था गरिएको छ। विद्युत् आपूर्ति अवरुद्ध भए पनि आकस्मिक बत्ती निरन्तर बल्ने र केही समयमै जेनेरेटरबाट विद्युत् आपूर्ति हुने प्रणाली जडान गरिएको छ।

यसअघि नागढुङ्गाबाट सिस्नेखोला पुग्न जाम नभएको अवस्थामा पनि करिब ४५ मिनेट लाग्ने गरेकोमा सुरुङमार्ग सञ्चालनपछि उक्त दूरी करिब २० मिनेटमै पार गर्न सकिने जनाइएको छ। यसले राजधानी भित्रिने र बाहिरिने यात्रुलाई सुरक्षित, सहज र छिटो यात्रा सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal