14:33:49 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

अप्पर त्रिशूली–३ ए टनेलमा फसेकाको उद्धार अझै हुन सकेन

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण नुवाकोटमा रहेको अप्पर त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको उद्धार अझै हुन सकेको छैन।

भदौ १० गते अचानक आएको बाढीपछि आयोजनामा कार्यरत केही कर्मचारी तथा कामदारको उद्धार गरिए पनि टनेलभित्र रहेका व्यक्तिमध्ये हालसम्म एक जनालाई पनि बाहिर निकाल्न नसकिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपछि आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धार टोली अझै टनेलभित्र पुग्न सकेको छैन। टनेलसम्म सुरक्षित पहुँच बनाउन अहिले उत्खननको काम जारी रहेको प्राधिकरणले जनाएको छ। उद्धारका लागि पहिलो प्राथमिकता टनेलसम्म सुरक्षित रूपमा पुग्ने मार्ग निर्माण गर्नु रहेको प्राधिकरणको भनाइ छ।

यसैबीच, सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा टनेलभित्र फसेका कर्मचारीको उद्धार भइसकेको वा कर्मचारीलाई बाहिर निकालिएको भन्ने समाचार तथा पोस्ट सार्वजनिक भइरहेका भन्दै प्राधिकरणले आधिकारिक पुष्टि नभएसम्म त्यस्ता विवरणलाई गलत वा अप्रमाणित मान्न आग्रह गरेको छ।

प्राधिकरणका कर्मचारीहरूले उद्धारका लागि परिचालित जनशक्ति र उपकरण पर्याप्त नभएको भन्दै थप दक्ष जनशक्ति तथा आवश्यक उपकरण तत्काल पठाउन सरकारसँग माग गरेका छन्। यस विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने तयारीसमेत भइरहेको जनाइएको छ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal