14:28:34 Loading weather...
नेपालको आवाज, नयाँ सोचको सुरुवात

“हटसिटका प्रश्नकर्ताबाट सरकारको नयाँ आवाज”

काठमाडौं, ६ असोज — पत्रकार जगदीश खरेललाई अब टेलिभिजनको स्क्रिनबाट होइन, सरकारको वास्तविक जिम्मेवारीबाट प्रत्यक्ष असर पुर्‍याउने अवसर प्राप्त भएको छ। साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका खरेलले इमेज टेलिभिजनमा लामो समय ‘हटसिट’ टक शोमार्फत राजनीतिक, सामाजिक र प्रशासनिक विषयमा सवाल-जवाफ गर्दै आएका थिए। अब उनी प्रश्न सोध्ने पात्रबाट प्रश्नको जवाफ दिने भूमिकामा प्रवेश गरेका छन्।

“मैले आफ्नो सञ्चारकर्ममा वर्षौंदेखि अनेकौं प्रश्न गर्दै आएको थिएँ। आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ। अब मैले सोधेका प्रश्नहरूका कतिपय जवाफ खोज्ने छु,” खरेलले भने।

दोलखाका खरेल २०५९ सालदेखि इमेज टेलिभिजनसँग जोडिएका छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर उपाधि हासिल गरेका उनी हाल अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधि गरिरहेका छन्। तीन महिना अघि मात्र समाचार कक्षको सम्पादक बनेका उनी केही महिनामै ठूलो राजकीय जिम्मेवारीमा पुगे।

प्रधानमन्त्री सुशीला कार्कीको योजना अनुसार राजनीतिक दल बाहिरका व्यावसायिक व्यक्तिहरूलाई मन्त्रीको जिम्मेवारीमा ल्याउने क्रममा खरेलको नाम चयन भयो। ‘हटसिट’मा खरेलले कार्कीसहित राजनीतिक नेता, सामाजिक अभियन्ता र प्रशासकहरूसँग प्रश्नोत्तर गर्दै आएका थिए। अब प्रश्न सोध्ने र जवाफ दिने दुवै भूमिकामा उनी एउटै मन्त्रिपरिषद्को सदस्य बनेका छन्।

सञ्चार मन्त्रालयको जिम्मेवारी केवल पत्रकारितासँग सीमित छैन। सरकारको प्रवक्ताको रूपमा काम गर्नु, जनतासम्म सन्देश पुर्‍याउने, प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने, मिडिया आचारसंहिता पालन गराउने र मिस–इनफरमेसन तथा डिसइन्फरमेसनविरुद्ध लड्ने काम पनि मन्त्रालय अन्तर्गत पर्छ। त्यसैगरी, सामाजिक सञ्जाल दर्ता, डेटा सुरक्षा, साइबर अपराध रोकथाम, अनलाइन प्लेटफर्महरूको नियमन जस्ता जिम्मेवारी पनि यहीं पर्छ। ग्रामीण क्षेत्रमा इन्टरनेट, मोबाइल सेवा र डिजिटल साक्षरतामा रहेको सीमित पहुँच, बजेट, पूर्वाधार, निजी–सार्वजनिक साझेदारी र टेक्नोलोजीको व्यवस्थापन लगायतका चुनौतीहरूलाई समाधान गर्ने रणनीति तयार गर्नु मन्त्री खरेलको परीक्षाको विषय हुनेछ।

Share Now
Facebook Messenger WhatsApp X Email
Ritesh Phuyal

Contributor and content creator.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपालको आवाज, नयाँ सोचको सुरुवात

info@cnmnepal.com
सम्पादक: सूर्य सुवेदी
दर्ता नं: ३६०४४०/८१/८२

© 2026 Central News Media. All rights reserved.
Designed & Developed By: Ritesh Phuyal