
नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकाहरूले आज भेला गर्ने कुरा बाहिर आएको छ। नयाँ बानेश्वरमा रहेको थापागाउँ ब्याङ्केटमा आज दिउँसो भेला हुने उक्त मागमा हस्ताक्षर गर्ने एक नेताको भनाइ छ।
काङ्ग्रेसको १४ औं महाधिवेशनका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए। प्रतिनिधिहरुले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग पनि गरिसकेका छन्।
कांग्रेस शीर्ष नेताहरूको नियमित महाधिवेशनमै जोड छ। यस्तो अवस्थामा विशेष महाधिवेशन झन् सान्दर्भिक बन्दै गइरहेको भन्दै प्रतिनिधिहरुले विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
कार्यवाहक सभापति खड्कालाई गत शनिबार र नेता शेखर कोइरालालाई सोमबार भेटेर विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका नेताहरूले विशेष महाधिवेशन अघि बढाउन आग्रह गरेका थिए। नेतृत्वलाई थप दबाब दिन विशेष महाधिवेशन पक्षधरले आज भेला गर्न लागेका हुन्।
साथै आज दिउँसो १ बजे काङ्ग्रेस केन्द्रीय समिति बैठक पनि बस्दैछ। महाधिवेशन कार्यतालिकामा सहमति खोज्न दुई दिन स्थगित बैठक आजदेखि पुन: सुरू गर्न लागिएको हो।
काङ्ग्रेस सभापति शेरबहादुर देउवा पक्षले चुनावपछि वैशाखमा नियमित महाधिवेशन गर्न सकिने बताएका छन् भने दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले चुनावअघि १५ औं महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्।